मालिका गाउँपालिका ५ मा सबैका प्रिय प्रेम खड्का

वैशाख २६, गुल्मी -जापानमा भएका एक यूवाले शुक्रवार विहानै अनलाइन म्यासेन्जरमा एउटा म्यासेज पठाए । त्यसमा लेखिएको थियो,‘प्रेम सर नमस्कार । हजुर वडा अध्यक्षमा उठेको देख्दा ज्यादै खुसी लाग्यो । बाध्यताले आउन सकिन, घरमा चार भोट छन् हजुरलाई आउँछन् । विजयको शुभकामना सर ।’चुनावी प्रचार प्रसारमा घरदैलोमा व्यस्त मालिका गाउँपालिका वडा नम्वर ५ छापहिलेका वडा अध्यक्ष पदका उमेदवार प्रेम बहादुर खड्का म्यासेज पढ्दा भावुक बने । म्यासेज पठाउने ती यूवा थिए आफैँले पढाएका पूर्व विद्यार्थी ।

आफ्नो घरमूनी खड्काले पढाएको जमलपोखरा माध्यमिक विद्यालय छ । त्यही विद्यालयमा उनले ४१ वर्ष पढाएका थिए । खड्काले पढाएका कैँयन विद्यार्थीहरु अहिले नेपाल सरकारको नायब सुब्बा, शाखा अधिकृतहुँदै उपसचिव भएका छन् ।‘घरबाहिर रहेका धेरै पूर्व विद्यार्थीहरुले फोन, म्यासेज गरेर मायाँ दिनुभएको छ’,खड्काले भने,‘उहाँहरुको सद्भावले धेरै खुसी लागेको छ ।’ आफूले गाउँ र समाजका लागि गरेको योगदानलाई धेरैले सहानुभूति दिएको खड्काले सुनाए ।

घरछेउँकै विद्यालय भएकै कारण उनले कहिल्यै विद्यालयलाई आफ्नो ड्यिूटीमात्र ठानेनन् । तत्कालिन समयमा प्रावी तहको विद्यालयलाई माध्यमिक तह (कक्षा १०) सम्म बनाउने प्रमुख भूमिका उनकै रह्यो । खड्काले लामो समय विद्यालयको प्रधानाध्यापक भएर पनि जिम्मेवारी पुरा गरे । शिक्षक पेशा बाहेक गाउँका नागरिकहरुको सुखदुःखमा साथ दिने खड्कालाई धेरै आपत, विपतका सारथी भनेर चित्रण गर्दछन् ।

२०५८ साल मंसीर १० गते खड्का माओवादीको शसस्त्र द्धन्द्धमा अपहरणमा परेका थिए । शिक्षक भएकै कारण र चन्दा नदिएको भन्दै उनलाई अपहरण गरी कुटपिट र ज्यान लिने सम्मका धम्की खेपे । त्यसपछि उनी गाउँबाट विस्थापित भइ सदरमुकाम तम्घासमा गएर बस्न बाध्य भए । तर, जति यातना सहनुपरेपनि उनी गाउँलेको सेवामा कत्तिपनि विचलित नभई सेवा गरे ।

०४५ सालदेखि उनले गाउँमै मेडिकल संचालन गरी गाउँलेको उपचारमा खटिरहेका छन् । व्यवसायलाई उनले सेवाको रुपमा समेत परिणत गरेर काम गर्ने गरेको स्थानीय सुनाउँछन् । गाउँका नागरिकहरुले आफूलाई परेको कानुनी समस्या, झन्झट, मुद्दा मामिला, झै झगडा जस्ता समस्यामा समेत खड्का सारथी बनेर उभिने गरेका छन् ।

उनै खड्का अहिले स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका ५ छापहिलेको वडा अध्यक्ष उमेदवार बनेका छन् । पार्टीगत रुपमा एमालेको उमेदवार बनेपनि आफूलाई गाउँका सवै दलमा आवद्ध नागरिकहरुले साथ दिएको खड्काले प्रतिक्रिया दिए । विकासमा कहिल्यै राजनीति नगर्ने उनको संकल्प छ ।

प्रतिक्रिया

सम्बन्धित खवर