९ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको अवस्थाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । त्यसैले आज उनलाई आयोजनाको पछिल्लो प्रगति र समस्याका विषयमा ब्रिफिङको कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका सम्बन्धमा ब्रिफिङ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन । धेरैजसो आयोजनाहरु समस्यामा छन् । अन्तरसरकारी समन्वय नहुँदा आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् ।
राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्यका हिसाबले सरकारको १५औं आवधिक योजना ८२ प्रतिशत असफल भएको छ । १५औं योजना २०७६/७७–२०८०/८१ भित्र १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएकोमा तीन आयोजना मात्र सम्पन्न भए । यो लक्ष्यको १८ प्रतिशत मात्रै हो ।
यसैलाई ध्यानमा राखेर प्रमुख महत्वका आयोजनाहरुको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘एक्सन रुम’ नाम दिएर आधुनिक प्रविधियुक्त कक्ष बनाइएको छ । प्रधानमन्त्रीले यही कक्षबाट आयोजना स्थलको प्रत्यक्ष अनुगमन र प्रदेशका मुख्यमन्त्रीहरुसँग पनि प्रत्यक्ष छलफल गर्न सक्छन् ।
राष्ट्रिय गौरवका आयोजनामध्ये पश्चिम सेती र सेती नदी-६ (एसआर-६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मस्यौदा भारतीय कम्पनी एनएचपिसी लिमिटेडले लगानी बोर्डलाई भने बुझाएको छ । काठमाडौं मेट्रो र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम नै सुरु भएको छैन ।
समस्या समाधानमा राज्य गम्भीर नदेखिँदा आयोजना म्याद थप गर्दै लम्ब्याउने काममात्र भइरहेको छ । यसले एकातर्फ आयोजनाका संरचना जीर्ण बनेका छन् भने अर्कातर्फ लागत उच्च दरमा बढिरहेको छ ।