मुग्लिन–पोखरा सडकमा रातिको अवराेध हट्याे
काठमाण्डौ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडक खण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा हिजोदेखि अवरोध हटेको हो ।
यही मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान साढे ४ बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्काे सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी गाडी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम शुरू भएको थियो ।