धुर्कोटको शिखरमा धुर्कोट कोट

धुर्कोट गाँउपालिका वडा नं. ६ स्थित धुर्कोटको शिखरमा धुर्कोट कोट अवस्थित छ । धुरीमा भएको कोट अथवा धुर भन्ने गाँउको माथि रहेको कोट भएकोले यसलाई धुर्कोट भनिएको हो । यस कोटमा जेठा देवता खड्ग सहित उन्नाइस भाइ देवताहरू हुनुहुन्छ । माइला देवता छत्रकोट भन्दा केहि तल एक्लै बस्नुहुन्छ । बडादशैँको नवमीको दिन यी सबै देवताहरूलाई प्रदर्शनीको लागि बाहिर निकालिन्छ । वि.सं. १४६५ देखि खड्गराज मल्लले मल्ल युद्ध गरेर धुर्कोट राज्य प्राप्त गरेको बुझिएको छ ।

धुर्कोट कोटमा विभिन्न समयमा विभिन्न प्रकारका पूजाआजा गरिन्छ । प्रत्येक वर्ष बैशाख जेठ महिनाको आइतबार वा मंगलबार पारेर वर्षा शरुहुने मौसममा सामुहिक पुजा गरिन्छ । उक्त पूजामा एउटा पाठो वली चढाइन्छ । यस पूजाबाट रोग नलाग्ने, पानी समयमा पर्ने, खेतीपाती राम्रो हुने मान्यता रहेको छ । श्रावण १ गते साँझ लुतो फाल्ने परम्परा अनुसार अगुल्टो, भलाईीको पात बाबियो र अन्य पूजा सामाग्रीका साथ पूजा गरिन्छ । जनै पूर्णिमाको दिन यस मन्दिर वरपरका मानिसहरू जनै डोरो लिएर

पूज्न आउँछन् । पूजारीले पूजे पछि मात्र घरघरमा गएर जनै लगाउने रक्षा बन्धन बाँध्ने, बाँध्न जाने चलन परम्परादेखि नै चल्दै आएको छ ।

बडादशैँमा कोटको पूजाको विशेष महत्व छ । घटस्थापनादेखि कोटमा विहान र साझ पञ्चेबाजा बजाएर बढाइ लगाइन्छ । घटस्थापनाको दिनदेखि नवमी सम्म कोटमा पोखेल थरका ब्राह्मण मुल पूजारीद्धारा देवी देवताको पूजा गरिन्छ । जेठा पाडा पाठा र कान्छो पाडा पाठाको मारहान्ने दुइ जना उपासु बसी आफ्नो नित्यकर्म गरी चोखीनीधी भई कोटमा बस्छन् । नवमीको दिन पाठा पाडाहरूको सयौंको संख्यामा बलि दिइन्छ ती उपासुद्धारा पर्सिएका मेडाहरूको मार हानिन्छ भने कुविण्डा काका पनि काटिन्छ र परेवा चढाइन्छ। जेठो पाडो र पाठो चढाउन धेरै वर्षदेखि पालो बस्नु पर्छ । निसन्तान महिला पुरुष पाठो पाडो बली दिएपछि सन्तान प्राप्त हुने जनविश्वास रहदै आएको छ ।

?

माइला देवता छत्रलाई बलि चढाइदैन । त्यसैले छत्र देवता मन्दिर तल एक्लै छुट्‌टै मन्दिरमा बस्नुहुन्छ । माइला देवताले दशैँको टीका ग्रहण गर्नुहुन्छ । मूल पुजारीले देवतालाई टीका लगाइदिनुहुन्छ । बडादशैँको दिन साइत हेरेर कोटमा टीका चढाइन्छ र उक्त टीका देवतालाई ग्रहण गरेपछि मात्र घरघरमा टीका लगाउने काम शुरु हुन्छ । पूर्णिमाको दिन मानिसहरूको ठूलो भिडको बीचमा छेवाली नाच नाचिन्छ । छेवाली नाचलाई नेपालको विशेष नाचको रुपमा लिइन्छ । छेवाली नाच पछि सरायँ नाच नाचिन्छ । उक्त दिन गुल्मीका धुर्कोट, इस्मा, अर्जे, भनभने, घमिर, मर्भुङ्ग लगायतका स्थानबाट मानिसहरू आइ मेलामा सहभागी हुन्छन् । धुर्कोटको सराय नाचमा महिला पुरुष दुवै सहभागी हुन्छन् । सराय नाचले ऐतिहासिक साँस्कृतिक महत्व जोगाउने काम गरेको छ । पूर्णिमाको मेलामा जेरी परिकारको प्रशस्त व्यापार हुन्छ । चनाचटपटे अम्बा बालवालिकाका खेलौनाका सामग्रीको व्यापार हुन्छ । चैते दशैंमा उक्त कोटमा वरिपरिका मानिसहरूले धुप ध्वजा लिएर चढाउछन् । उक्त दिन एउटा पाठोको अनिवार्य रुपमा वलि दिनुपर्छ । अरु भाकल भएमा पाठो पाडोको बलि पनि दिइन्छ ।

धुर्कोट अग्लो पहाडको टापुमा छ । कोटको टापु बरिपरिबाट अग्लो पर्खाल लगाई सुरक्षित बनाइएको छ । मन्दिरको मुख्यद्वार भित्र दुर्गादेवीको मूर्ति बनाइएको छ। उक्त मूर्तिमा फूल, भेटी धूप, ध्वजा चढाउन भक्तजनहरूको भिड लाग्छ । हाल कोटको

परिसरमा सङ्ग्रहालय निमार्णको काम भइरहेकोले मोटरबाटो पुर्याइएको छ। जिए, कार, मोटरसाइकल चढेर कोटमा भक्तजन पुग्छन् ।

धुर्कोट कोटमा २०७४ सालको चैते दशैंमा स्थानीय हिन्दुधर्मावलम्बी र धुर्कोट गाँउपालिकाका जनप्रतिनिधिहरूको सक्रियतामा यस मन्दिरको प्राङ्गणमा सात दिने श्रीमद्भागवत् सप्ताह महायज्ञ सम्पन्न गरिएको थियो । उक्त यज्ञबाट विभिन्न दानबीर हरूको आर्थिक सहयोगबाट प्राप्त रकमले कोटको पूर्वपट्टि आधुनिक मन्दिर निर्माण गरिएको छ। तामाको पाताले छाएको उक्त मन्दिरले कोटको सौन्दर्यतामा थपेको छ । त्यसै गरी मन्दिरको छेउमा दुइतला संग्राहलय भवन निमार्ण गरिएको छ । यस स्थानमा बर्वोदेखि सिँढी चढेर पनि आउने व्यवस्था मिलाईएको छ । सिंढीको चढाइमा थकाई मार्न विच विचमा आश्रमस्थल बनाइएको छ । शनिवार तथा सार्वजनिक विदाको दिन विभिन्न स्थलबाट विद्यार्थीहरू सिढी चढेर कोट पुग्ने वरिपरिका रमणीय स्थलहरू अवलोकन गर्न आउँछन् । धुर्कोट कोटको विकास र थप स्तरउन्नतिका लागि स्थानीय तह प्रदेश सरकार र केन्द्र सरकारले आर्थिक सहयोग गर्दे आएको छ । धुर्कोट कोटको आफ्नै सम्पत्ति पनि छ । धुर्कोट २ नादीमा करीब ८ रोपनी क्षेत्रफल भएको गुठी जग्गा छ । जसमा धान खेती गरेरे आम्दानी गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर