गुल्मी – आगमी कार्तिकमा हुने प्रथम ऎतिहासिक गुल्मी महोत्सवमा स्थानीय व्यापारीलाई ३० प्रतिशत छुट दिइने भएको छ । पर्यटन तथा उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा अटोमोबाईल्सका लागि ५० हजार , बैंक तथा वित्तिय संस्थालाई ३० हजार, होटल तथा रेष्टुरेण्टका लागि ४० हजार र जनरल व्यापारिक स्टलका लागि २२ हजार ५ सय शुल्क तोकिएको गुल्मी उद्योग संघ उपाध्यक्ष जनक पन्थले जानकारी दिए । मेलामा २ सय ५० वटा स्टल रहन्छ त्यसका लागि बुकिङ खुल्ला गरेका छौं । उपाध्यक्ष पन्थले भने महोत्सवको माध्यमबाट उद्योगलाई माथी उठाउन स्थानीय ब्यापारीलाई ३० प्रतिशत छुट दिने निर्णय गरेका छौं ।
प्रथम ऎतिहासिक गुल्मी महोत्सव आगामी कार्तिक १५ देखि २५ गतेसम्म चल्ने छ । आयोजकले प्रचारप्रसारलाई तीब्र पारेको छ । ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड रेसुङ्गा’ नारा सहित महोत्सवको तयारीलाई तीब्र पारिएको गुल्मी उद्योग सघ अध्यक्ष नवराज भुसालले बताए । महोत्सव बिगतका बर्षमा सदरमुकाम स्थित चिदिचौर खेल मैदानमा हुने गरेपनि यसपटक रेसुङ्गा ९ उपल्लो तम्घास खालकाचौर हुने भएको छ ।
महोत्सवमा कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवद्र्धनका जोड, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरको प्रचारप्रसार , जिल्लाको आर्थिक अवस्थालाई चलायमान गराउने आयोजकले जनाएको छ ।
स्थानीय पहिचानलाई चिनाउने र देशब्यापी प्रचारप्रसार गर्ने लक्ष्य बोकेको महोत्सवमा एक लाख दर्शक भित्राउने र ६० करोड बराबरको कारोबार गर्ने आयोजकले अपेक्षा लिएको छ ।