बैशाख २६ गुल्मीः गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओबादी केन्द्रका नेतालाई कुटपिट गरी घाइते बनाएका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाली कांग्रेसका गोपाल थापाको समूहले गएराती करिब १२ बजे नेकपा माओबादी केन्द्रका पालिका अध्यक्ष लीलबहादुर केशी (संजय) लाई कुटपिट गरी घाइते बनाएका हुन् ।
केशीको अनुहारमा चोट लागेको छ । राती करिब १२ बजेतिर समिक्षा बैठक सकेर घरतर्फ फर्कर्दै गर्दा थापाले एक्कासी बाइकको हेल्मेटले टाउकोमा प्रहार गरेको र आफू वेहोस भएर ढलेको केशीले बताएका छन् । त्यस पश्चात केके गरे आफूलाई केही थाहा नभएको केशीको भनाई छ । केशीको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
यता नेपाली कांग्रेस गुल्मीका सचिब जगदीश भट्टराइले दूई पक्ष बीच सामान्य भनाभन भई धकेल्दा केशीलाई सामान्य चोट लागेको बताएका छन् । दुई पक्ष बसेर समस्याको समाधान खोज्ने गरी आफूहरु लाग्ने उनको भनाई छ ।
उहाँ कालीगण्डकी गाउँपालिकाको नेपाली कांग्रेस निर्वाचन परिचालनमा बिशेष गरी खटिएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सामान्य कुटाकुट भएको आफूहरुलाई थाहा भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।( समाचार स्रोत : खबर मार्केट )