झिलझिले— मदिरा सेवन गरेका युवाको मोटरसाइकल रोक्दा झापाको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्जमाथि आक्रमण भएको छ । प्रहरी निरीक्षक युवराज कटुवालमाथि बिहीबार साँझ बन्चरो प्रहार भएको हो ।
सादा पोसाकमा रहेका कटुवालले शिवसताक्षी नगरपालिका-९ स्थित सडकमा तीन जना सवार मे ४ प २७५१ नम्बरको अनियन्त्रित मोटरसाइकल रोकेका थिए ।
मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय अशोक पोखरेलले उनलाई बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको र हातमा चोट लागेका कटुवालको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
बन्चरो प्रहार गर्ने पोखरेल, मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ र पछाडि सवार ३३ वर्षीय लक्ष्मण टुडुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।