मंसिर १, गुल्मी । यतिबेला हामी आम निर्वाचनको सम्मुखमा छौँ । मंसिर ४ मा हुने निर्वाचनको लागि आज मध्यरातदेखि स्थिर अवधि सुरु हुने भएकाले राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम चरणमा छन् । यसबीचमा आज हामी गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश ख मा नेकपा एमालेको तर्फबाट उमेद्धवार बन्नुभएका युवा नेता फर्सुराम पाण्डेसँग निर्वाचनसम्बन्धित संवाद गरेका छौँ ।
प्रस्तुत छ उहाँसँग गरिएको संवादको संपादित अंश
व्यवसायिक पृष्ठभूमिबाट संगठनमा रहेको सक्रियतासँगै नीति निर्माण तहमा जान अग्रसर हुनुभएको छ, मतदातामाझ के कस्ता योजना लिएर प्रस्तुत हुनुभएको छ ?
हेर्नुुस् म कुनै थप पद, प्रतिष्ठा वा व्यक्तिगत अर्थोपार्जनको लहडमा आएको होईन । उद्यम कर्ममा आत्मनिर्भरता वा स्वाबलम्वनका विषयमा लामो सीप, अनुभव तथा योगदानकै धरातलमा पनि मेरो अगाडि आकर्षक अवसरहरु थिए र छन् पनि । भनाईको तात्पर्य मेरो पृष्ठभूमिले पनि ती कुराहरुकै लागि म यसरी चुनावमै आउनुपर्ने थिएन ।
तर, यहाँले भनेझैँ नीतिगत उत्तरदायित्व वहन गर्ने ठाउँमा पुगेर काम गर्दा यसको दायरा अझ फराकिलो बनाउन सकिन्छ भन्ने चिन्तन पहिलेदेखि नै म भित्र संचार भइरहेको विषय थियो । आफ्नो ठाउँको श्रीवृद्धिको लागि के, कसरी कति र कहिले योगदान गर्न सकिन्छ भन्ने हिसाबले सुक्ष्म ढङ्गले अध्ययन गरी केही योजना तयार पारियो ।
सांगठनिक हिसाबले पहिलेदेखिनै विभिन्न संगठनमा भएको हुँदा ती योजनाहरुको स्पष्ट मोडल, लागत, समय, पूरा गर्ने आधार, स्रोत व्यवस्थापन लगायतका विषयहरुबारे पार्टीपङ्ति र विज्ञ समुहमा पनि पर्याप्त छलफल भयो । यसबीचमा अबको समय यस ठाउँको समुन्नतिमा सुम्पिने संकल्पसहित नेकपा एमालेको तर्फबाट प्रदेशसभा पदको उमेद्वार बनेर आएको हो ।
हामीले भनेका तीनै योजना हाम्रो प्रतिबद्धतामा समेटेर हामी मतदातामाझ पुगिरहेका छौँ । ती योजना भनेका हाम्रो दैनिकीसँग जोडिएका हुन् । अहिले पनि हामी परिवार पाल्नको लागि त्यही परिवारबाट अलग भएर वा विदेशिएर बस्नुपर्ने बडो दर्दनाक अवस्थाबाट गुज्रिरहेका छोँ । त्यो समस्या हल गर्न ऊर्जाशील जनशक्तिलाई उचित मूल्यसहितको श्रममा सामेल गरी आत्मनिर्भर बनाउने कुरा हाम्रो प्रतिबद्धतामा उल्लेख छ ।
जुन क्षेत्र भूगोल र समुदाय जे कुरामा पछाडि छ, त्यसलाई माथि उठाउने गरी सेवाको वितरण न्यायोचित ढङ्गले गर्नुपर्दछ । त्यसैले भूगोल, परिस्थिती र परिवेश अनुसार प्राथमिकताका क्षेत्र निर्धारण गरेर त्यसको कार्यान्वयन आधारसहित हामी आएका छौँ ।
हरेक चुनावमा यस्तै प्रतिबद्धता आउँछन्, फेरी तपाईको प्रतिस्पर्धीका एजेण्डा पनि करिब करिब उस्तै देखिन्छन् । बितेको अवधिमा सेवाप्रवाह र विकास निर्माणमा भनेजस्तो परिवर्तन आएन भन्ने जनगुनासोबीच तपाई मतदातालाई कसरी विश्वस्त पार्दैहुनुहुन्छ ?
अस्वभाविक एजेण्डाको मदतले चुनावमा जीत हात पार्न खोज्ने नियतमाथि आममानिसको आशंका रहनु स्वभाविक कुरा हो । तर उमेद्वार बनेर आउँदै गर्दा उठाएका विषयमा पुरा गर्न सकिने कुरा मात्र समावेश गरिएको छ । यस शिलशिलामा हामीले विभिन्न क्षेत्रका विज्ञहरुसँगको समन्वयमा पाँच वर्षमा के कति काम गर्न सकिँदोरहेछ भनी सुक्ष्म अध्ययन गरेको थियौँ ।
त्यसका आधारमा श्रोत, जनशक्ति लगायत धेरै कुराको तथ्यगत विश्लेषण गरेर मात्र हामीले घोषणापत्र तयार पारेका छौँ ।कुनै पनि कुरा हँचुवाको भरमा होइन तथ्यका आधारमा तय गरेका छौँ । यही तथ्यका आधारमा घरदैलो साक्षात्कार लगायत भेटघाटमा सबै मतदातालाई विश्वस्त पारिरहेका छौँ । बरु बोल्न छुटेका धेरै काम गर्न सकियोस् तर बोलेको पुरा गर्न नसक्ने अवस्था नआओस् भन्ने कुरामा म सचेत छु । यसर्थमा अपुरा अधुरा कामलाई पूर्णता दिनेगरी हामी थप परिष्कृत ढङ्गले आएका छौँ ।
यहाँले रोजगारी र स्थानीय उत्पादनको विषयलाई अलि बढी प्राथमिकता दिएको जस्तो देखिन्छ, त्यो पूरा गर्ने आधार के छन् ?
यी सबै कुराहरुको यथोचित व्यवस्थापन गर्ने भनेको नीती हो, हाम्रो पार्टी नेकपा एमालेले तीन चार दशक पहिले तय गरेका नीतीले अहिले कसरी एउटा पद्धतिको रुपमा काम गरिरहेको छ, ती कुराहरु तल्लो तहका नागरिकसम्म कसरी सेवा र सहुलियतका रुपमा विस्तारित छ भन्ने तथ्य त हाम्रा सामु छर्लङ्ग छ नि । त्यसैगरी अहिलेका जल्दाबल्दा समस्याको समाधान गर्न पनि हाम्रो पार्टीले ग्यारेण्टीको रुपमा अगाडि सारेका विषय सघन अध्ययनपछि आएका हुन् ।
ती पुरा गर्ने आधार भनेको स्थानीय श्रोतको उचित व्यवस्थापन, न्यायोचित वितरण, र राज्यसंयन्त्रले ग्रहण गर्ने उत्तरदायित्व हो । त्यसको ग्यारेण्टी गर्नेगरी हामी आएका छौँ । हामीले ग्रामीण विकासको आधार उत्पादन र बजार भनेका छौँ, यो केवल नारा राम्रो बनाउन भनिएको कुरा होइन, यसको मर्म भनेको स्थानीय उत्पादकलाई उत्पादनमा प्रोत्साहन गर्ने, कहीँ न कहीँ उद्यममा जोड्ने भनेको हो ।
त्यसरी उत्पादित उपजको बजारको जिम्मा लिने संयन्त्र बनाउने भनेको हो । यसले सोझै रोजगारी वृद्धि गर्नमा टेवा पुर्याउँछ भने गाउँपलायन हुने क्रम पनि कम गर्दै लैजान सकिन्छ । यदि साना ठूला कुनै पनि उद्यमीको जोखिममा राज्यसंयन्त्र उत्तरदायि नबन्ने हो भने उत्पादक विस्थापित हुनसक्छ तसर्थ त्यसको जिम्मेवारी लिने वैधानिक संयन्त्र भन्नुस् या प्रणाली त्यो मोडलमा जानुको विकल्प छैन ।
प्रचारप्रसारको अन्तिम समयमा हुनुहुन्छ, कस्तो वातावरण बनिरहेको छ ? तपाइँका योजना र प्रतिबद्धताप्रति आममानिसकोे प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
एउटा कुरा मैले निकै सकरात्मक महशुस गरेँ त्यो के भने, मतदातामा चेतनाको स्तर म आफैले सोँचेभन्दा पनि धेरै राम्रो पाएँ । सायद पूरा गर्ने भरोसा भएरै होला उहाँहरु हामीसँग निकै जिज्ञासु भएर प्रस्तुत हुनुभएको छ । अर्को कुरा सरकार भनेको प्रत्यक्ष हाम्रा दैनिकीसँग जोडिएको संरचना हो, यसर्थ मतदाताले यसमा पार्टीगतसँगै उमेद्वारको क्षमता र योजना कार्यान्वयनको आधार खोजिरहेका छन् ।
हामी यो यो आधारमा यो काम यसरी गर्न सकिन्छ भन्ने आधारसहित प्रस्तुत भएकाले हामीप्रतिको विश्वास दिनानुदिन बढ्दो छ । फिल्डका सबैजसो कमरेडहरुको रिपोर्टिङ् पनि त्यही नै छ ।
चुनावी नतिजा यहाँको पक्षमा आउँछ भन्नेमा कति आशावादी हुनुहुन्छ ? त्यसको आधार के हो ?
म र मेरो पार्टी विजयी हुने कुरामा शत प्रतिशत विश्वास छ । पार्टी मार्गदर्शन बमोजिम समृद्ध, समुन्नत र गौरव गर्न लायक क्षेत्र बनाउने योजनासहित आएका छौँ । तपाइँको अमूल्य मतको अपेक्षा राखेको छु भनेर अनुरोध गरेको छु । तपाईलाई थाहै छ, यो क्षेत्र नेकपा एमालको उर्वर भूमि हो । पार्टीको विरासत कायम राख्दै यहाँको सर्वाङ्गीण विकास गर्ने अभिभारा हाम्रो हो ।
पार्टीको संगठन विस्तार र हामीप्रतिको विश्वास अहिले झन् गुणात्मक रुपले अघि बढेको छ । पूर्वाधार विकास र सामाजिक रुपान्तरणको स्पष्ट खाका सहित आएका छौँ यही आधारमा मतदाताले अनुमोदन गर्नुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास छ । मतदाता हाम्रा एजेण्डा अनुमोदन गर्न आतुर भएको हाम्रो बुझाई हो ।
सतकर्ता केन्द्र, ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतका संस्थाहरुका प्रतिवेदन हेर्ने हो भने नेपालमा चरम नीतीगत भ्रष्ट्राचार हुने गरेको देखाउँछ । यसको नियन्त्रण कसरी गर्न सकिन्छ होला ?
यसमा मुख्य कुरा भनेकै नियतको हो । सही नियतबाट आएको जनप्रतिनीधि वा राष्ट्रसेवक कसैले पनि अनियमितता गर्दैन । यो समस्याको हल गर्न सबैभन्दा पहिला त अनुचित लाभ लिने नियतले नभई जनसेवा गर्ने फराकिलो उद्धेश्य राख्नुपर्दछ । नेतृत्व तह आफुले गैरकानुनी लाभ नलिने वा गलत कामको शुरुवात नगर्ने हो भने मात्रै पनि मातहतका निकाय धेरै सचेत हुन्छन् भन्ने लाग्छ ।
भ्रष्ट्राचार, अपचलन तथा अनुचित दोहन रोक्न विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र दण्ड तथा नसिहतको व्यवस्था स्पष्ट र शीघ्र रुपमा लागु गर्नुपर्दछ ।
यदि तपाई यस निर्वाचनमा विजेता बनेर जिम्मेवारीमा आउनुभयो भने प्रतिपक्ष, अन्य राजनीतीक दल र सरोकारवाला निकायले कस्तो समन्वयको अपेक्षा राख्न सक्छन् ?
रोग, गरिबी पछौटेपन जस्ता समस्या यहाँका साझा समस्या हुन् । तीनको समाधान गर्न पनि साझा सहकार्य बढी फलदायी हुन्छ । जिम्मेवारीमा आएपछि म बाट कोहीकसैलाई वैचारिक, भौगोलिक लगायत कनै पनि दृष्टिले विभेद हुँदैन । सबैसँग उचित किसिमको सहकार्य हुन्छ । आवश्यकताअनुसार विज्ञ तथा जानकारहरुको राय लिने काम हुन्छ । यस ठाउँलाई समृद्ध र एक अनुकरणीय क्षेत्र बनाउने हामी सबैको साझा दायित्व सम्झेर सबै सरोकारवाला निकायसँग समन्वय हुन्छ ।