बागलुङमा चार पाङ्ग्रेको लाइसेन्स परीक्षा पुन : सञ्चालन हुँदै

बागलुङ – साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चार पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ ।

नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं २०६९ देखि चार पाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले यसै महिनादेखि चार पाङ्ग्रे सवारीसाधनको ‘लाइसेन्स’ परीक्षा सुरु गर्ने ट्रायल सेन्टर छनोट भइसकेको जानकारी दिए ।

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा लिन लागेको हो । दुई पाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका-१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चार पाङ्ग्रे सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धवलागिरि क्षेत्र लाभान्वित हुने बताए। ‘बागलुङमा चार पाङ्ग्रेको ट्रायल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ’, उनले भने, ‘बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्कीलगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।’

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चार पाङ्ग्रेको ट्रायल हुन सकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।

सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर